जनक्रान्तिमा रेडियो

- लोकरञ्‍जन पराजुली | 2022-02-06

आज नेपालमा यत्रतत्र छन्– रेडियो स्टेशन । यस्तो सुलभ रेडियो ७ दशकअघि बडो दुःखले जनक्रान्तिबीच स्थापना भएको थियो । नेपालमा रेडियोको स्थापनाकालको राजनीति कस्तो थियो ? 

लोकरञ्जन पराजुली

नेपालमा सन् १९२० को दशकमा राणा शासकहरूले र अरू भारदार/कर्मचारीहरूले कम्तीमा पनि सन् १९३० कै दशकदेखि रेडियो राख्न सुरु गरे । तर, पद्मशमशेरको अभ्युदयसँगै २००३ सालमा मात्रै नेपालमा रेडियो औपचारिक रूपमा ‘फुक्का’ भयो ।

अर्थात् ल्याकतवाला रैतीजनले पनि लाइसेन्स लिएर रेडियो सेट घरमा राख्न, सुन्न पाउने भए । यो खुलापनसँगै रेडियो वरिपरिका व्यवसायसमेत फस्टाए— रेडियो र रेडियोका सामान, रेडियो–कार्यक्रम गाइड, आदि बिक्री–वितरण गर्ने पसल तथा बिग्रेका रेडियो मर्मत गर्ने दुकानहरू खुले । केही समयपछि पद्मशमशेरले सानो क्षमता (२५ किलोवाट) को ट्रान्समिटर लिएर २००३ सालको माघ ११ (?) देखि नेपाल रेडियो स्टेसन सुरु गरे, जसको चर्चा मैले १० पुस २०७८ को ‘कान्तिपुर कोसेली’ मा गरिसकेको छु ।

पद्मको शासनको अन्त्य–अन्त्यतिर गोरखापत्रले आफ्नो सम्पादकीयमा लेखेको थियो, ‘निकट भविष्यमा रेडियोको प्रचार बढी हाम्रो मुलुकको पनि घरघर छाप्रोछाप्रोमा फैलिने सम्भावना’ छ । अनि उसले ‘धेरै चाँडै नै हाम्रो रेडियो स्टेसन पनि संसारका प्रमुख रेडियो टेसनहरूको तुलनामा आउनेछ भन्ने पूर्ण आशा’ पनि व्यक्त गरेको थियो । तर, उसको आशा छिट्टै निराशामा परिणत भयो । पद्शमशेर भारत पलायन हुन बाध्य बनाइए । मोहनशमशेर प्रधानमन्त्री बने । सँगै रेडियोको प्रगतिको साटो अधोगति भयो ! नियमित रेडियो प्रसारण बन्द भयो ।

मोहनको अभ्युदयपछि

मोहनशमशेर प्रधानमन्त्री भएपछि आफ्नो सिन्दूरयात्राको दौरान दिएको लामो भाषणमा आफूले गर्न लागेका विभिन्न कामको फेहरिस्त पस्केका छन् । त्यसमा भौतिक पूर्वाधार (बिजुली, बाटोघाटो, पानी, इत्यादि) देखि शिक्षा, ऐन–कानुनसमेतको चर्चा छ । तर, त्यो भाषणमा रेडियोको प्रसंग आउँदैन । मोहनका प्रारम्भिक गतिविधिलाई केलाउने हो भने उनी शासनमा आइसकेपछि पद्मको शासनकालमा गरिएका सुधारलाई उल्ट्याइएको देखिन्छ । त्यसै गरी पद्मको पालामा सुरु गरिएको नियमित रेडियो प्रसारणमा पनि रोक लागेको हुनुपर्छ ।

जयदेव भट्टराईले राणा शासकहरूबीच ‘आपसी खिचातानी’ ले र खास गरी रेडियो खोलेको श्रेय मोहनशमशेरले आफूले लिन खोजेकाले रेडियो बन्द भएको लेखेका छन् । यद्यपि, ‘गोरखापत्र’ का पुराना अंकहरू केलाउँदा मोहनको पालामा रेडियोको नियमित प्रसारण बन्द भए पनि यदाकदा रेडियो प्रसारण भइरहेको छनक मिल्छ ।

साउन २०, २००५ को गोरखापत्रको पहिलो पृष्ठमा ‘नेपाल–रेडियो–ब्रडकास्ट’ शीर्षकमा एउटा समाचार छापिएको छ, जसमा भनिएको छ, ‘हिजो १८ गते बेलुका ७ बजे नेपाल टायममा काठमाडौंबाट रेडियोको २० र ४० मिटरमा नेपाली ब्रडकास्ट भएको थियो । सो नेपालका सबै रेडियोहरूबाट राम्रो र स्पष्ट सुनिएको थियो । यसै सिलसिलामा नेपाल राजधानीमा ब्रडकाष्टिंग टेसन खोल्नालाई चाहिने माल सामान, तालिम पाएका कामदारहरूको प्रबन्ध पनि सरकारमार्फत छिटै हुने भएको छ भन्ने बुझियो ।’

त्यस्तै, माघ १०, २००६ को गोरखापत्रमा ‘श्री ३ को भाषण रेडियोबाट पनि’ शीर्षकमा एउटा सूचना छापिएको छ । प्रचार विभागद्वारा प्रकाशित यो सूचनामा भनिएको छ, ‘श्री ३ महाराजबाट २००६ साल माघ ९ गते १ का दिन सिंहदरबारमा भारदारीमा हुकुम बक्सेको भाषण आज १० गते दिनको ५ बजे श्री मोहन आकाश–वाणीद्वारा ४० मिटरमा सुनाइने प्रबन्ध भएको छ ।’ यी तथ्यले नयाँ स्थापित अड्डा मोहन आकाश–वाणीमार्फत त्यहाँ उपलब्ध ट्रान्समिटरको प्रयोग गरी मोहनशमशेरको पालामा आक्कल–झुक्कल रेडियो प्रसारण भइरहेको थियो भन्ने जनाउँछ ।

मोहनशमशेर मातहतको सरकारले २००५ साल भदौदेखि प्रचार विभाग खडा गरी सोमार्फत विभिन्न विज्ञप्तिहरू सार्वजनिक गरेको देखिन्छ । गोरखापत्रमा छापिएका यी विज्ञप्तिमा सरकारले शिक्षा, टेलिफोन, बिजुली, रोपवे लगायत उद्योगहरूबारे केही प्रकाश पारेको पाइन्छ । तर, यिनमा रेडियोबारे केही बोलिएको पाइँदैन । यस अवधिमा गोरखापत्रमा छापिएका समाचार, सम्पादकीय र चिठीपत्र केलाउँदा रेडियोको प्रसंग नआएकाले बेलाबखत रेडियो प्रसारण भए पनि नियमित रूपमा रेडियो प्रसारण बन्द भएकै मान्नुपर्ने हुन्छ ।

२००७ साल वैशाख २६ गतेको गोरखापत्रमा मोहनशमशेर प्रधानमन्त्री भएको तेस्रो वर्षमा प्रवेश (उदयोत्सव) को समारोहको समाचार छापिएको छ । सो समाचारमा मोहनशमशेर शासनारूढ भएपछिका कामको फेहरिस्त दिइएको छ, जसमा एउटा सानो खण्डको शीर्षक ‘ब्रडकास्टिङ स्टेसन’ छ । र त्यसमा भनिएको छ—

‘आमोद–प्रमोदका प्रोग्राम (कार्यसूची) का साथसाथै विश्वखबर र शिक्षाप्रद कुराहरूको बोध स्वदेशमा होस् भन्ने अभिप्रायले अरू मुलुकसरह यहाँ पनि ब्रडकास्टिङ स्टेसन रहोस् भनी सरकारबाट काठमाण्डूबाट पूर्व ३ कोस ठिमीमा एन्टेना ट्रान्समिटर र ब्रडकास्टिङ स्टेसन खोल्नलाई निकासा बक्सेको छ । २५० मिडियम वेभ ट्रान्समिटर र ५ किलोवाट सर्ट–वेभ ट्रान्समिटर तथा अरू सामान कल पुर्जाहरूसमेत विदेशबाट झिकाउनलाई २ लाख रुपियाँ निकासा बक्स्यो । २५० वाट ट्रान्समिटरले नेपालभित्रका सुन्नेहरूलाई र ५ किलोवाट सर्ट–वेभले हिन्दुस्तान विदेशमा रहेका नेपाली सुन्नेहरूलाई खबर इत्यादि ब्रडकास्ट गर्ने प्रबन्ध छ । यो ट्रान्समिटरको ब्रडकास्ट बर्मा, मलेयामा रहेका हाम्रा स्वजातिले पनि सुन्न सक्नेछन् भन्ने आशा गरिएको छ ।’

२००७ सालको असोज ६ गते नेपालको पहिलो संसद् (अनिर्वाचित) को बैठक बसेको थियो । सो बैठकलाई प्रधानमन्त्री मोहनशमशेरले सम्बोधन गरेका थिए । उनले आफ्नो सम्बोधन क्रममा भने, ‘समाचार आदान–प्रदानमा सुगमता र शीघ्रताका लागि बेतार र टेलिफोनको स्थापना र विकास भइरहेको छ । चाँडै ब्रडकास्टिङ टेसन पनि खडा हुने भएको छ ।’

यी तथ्यले ब्रडकास्टिङ टेसन खडा गर्ने योजना भए पनि खासमा शक्तिशाली/नयाँ रेडियो ट्रान्समिटर उपलब्ध भइनसकेको र भवन निर्माणको काम भइरहेको बुझाउँछ । प्रत्यूष वन्तका अनुसार, मोहनको पालामा ब्राजिलबाट झिकाइएको फिलिप्स कम्पनीको ट्रान्समिटर इत्यादि बल्ल २०१० सालमा कलकत्तामा आइपुगेर थन्किएको र सो २०१३ सालमा नेपालको हो भन्ने पत्ता लागेपछि काठामाडौं ल्याइएको थियो ।

जनक्रान्तिको प्रोपागान्डा औजार

यसैबीच तात्कालिक राजा त्रिभुवन शाह कात्तिकको तेस्रो साता (कात्तिक २२, २००७) आफ्ना परिवारजनसहित (माइला नातिबाहेक) नेपालस्थित भारतीय दूतावासमा शरण लिन पुगे । र, केही दिनपछि (कात्तिक २६ गते) उनीहरू भारत निर्वासित भए । उनीहरूको निर्वासनसँगै राणा शासनको विरोधमा र नेपालमा प्रजातन्त्र स्थापनाका लागि गठित राजनीतिक दल नेपाली कांग्रेसले सशस्त्र आन्दोलन छेड्यो । वीरगन्जका सरकारी कार्यालय र सुरक्षा निकायउपर रातको समय आक्रमण गरेर सुरु भएको यो आन्दोलन चाँडै नै खास गरी दक्षिणी सीमाका अन्य सहरमा पनि मच्चियो र पहाडतिर उक्लियो ।

आन्दोलनकारीहरूले पर्चा–पाम्प्लेट, पत्रिका र रेडियोमार्फत आफ्ना विजयका समाचार र प्रोपागाण्डा प्रवाहित गरेका थिए । २००७ सालको आन्दोलनमा भोजपुरको मोर्चा सम्हालेका नारदमुनि थुलुङले त्यहाँ आफूले आकाशवाणी–टेसनमा भएको ट्रान्समिटर प्रयोग गरी रेडियो समाचार/सामग्री प्रसारण गर्न सुरु गरेको र सो पछि विराटनगर पठाइदिएको दाबी गरेका छन्—

‘भोजपुर कब्जा भएको पाँचौं दिनदेखि नै राणाकालका आकाशवाणी वायरलेसलाई प्रचार तथा प्रसारको साधन बनाई ब्रोडकास्टिङ रेडियो टेसनको रूपमा थालिएको थियो । त्यस रेडियो टेसनको ब्रोडकास्टिङ सर्वप्रथम जयन्द्रबहादुर थपलियालाई गर्न दिएको थियो । रेडियोबाट बिहान र बेलुका दुई समय समाचार प्रसार हुन्थ्यो । जयन्द्रले सेन्सर नगराई धनकुटामा आक्रमण गर्ने समय र स्थानको सूचना ब्रोडकास्ट गरिदिनाले धनकुटाका राणा पक्षबाट रातबीचमा पाख्रीबासमा ७ जना भोजपुरेहरूलाई मारेका थिए । पछि सो ब्रोडकास्टिङ रेडियो टेसन भोजपुरबाट विराटनगरमा पठाइदिएको थिएँ । पछि विराटनगरबाटै ब्रोडकास्टिङ हुन थालेको थियो । भोजपुरबाट माघ महिनाभरि मात्र ब्रोडकास्टिङ भएको थियो ।’

विराटनगरबाट ‘प्रजातन्त्र नेपाल रेडियो’ खोलेर प्रोपागान्डा र क्रान्तिकारी गीतहरू प्रसारणको संयोजन/नेतृत्व गरेका तारिणीप्रसाद कोइरालाले क्रान्तिकालीन रेडियोसम्बन्धी आफ्नो अलि लामै लेखमा भने थुलुङबाट सहयोग पाएको उल्लेख गरेका छैनन्, न कहिलेदेखि विराटनगरबाट कार्यक्रम सुरु गरियो त्यो नै उल्लेख गरेका छन् । बीपीले नारदमुनि थुलुङलाई वायरलेसबाट आदेश दिँदै गरेको सुनेपछि आफूलाई सो वायरलेसलाई प्रोपागान्डाको रूपमा प्रयोग गर्ने जुक्ति फुरेको तारिणीले आफ्नो लेखमा बताएका छन् ।

तारिणीसँगै युद्धकालीन प्रचार–प्रसारमा संलग्न हिन्दीका ख्यातनाम साहित्यकार फणीश्वरनाथ रेणुले ‘नेपाली क्रान्ति–कथा’ पुस्तकमा सो रेडियोका विभिन्न गतिविधिको चर्चा गरेका छन् । तारिणी र ‘पीआरओ’ (अर्थात् रेणु) मिलेर संग्राम समितिलाई ठूलो शक्तिशाली ब्रोडकास्टको सामान राखेर रेडियो सञ्चालन गर्नु आवश्यक भएको सल्लाह दिएको र ‘सर्वाधिनायकले सो सुझाव मानेर एउटा नयाँ ट्रान्समिटर र वरिष्ठ इन्जिनियर’ मगाएको सो पुस्तकमा उल्लेख छ ।

रेणुका अनुसार, उनीहरूले भोलिपल्टदेखि सर्टवेभको ४१ मिटरमा नेपाल प्रजातन्त्र रेडियोको प्रसारण हुने प्रचार–प्रसार गरे पनि अघिल्लो दिन साँझसम्म गाना–बजानाको सामान जुटिसकेको थिएन । उनीहरूले स्थानीय भजनमण्डलीबाट हार्मोनियम लिए । तर, तबला र अन्य साजको खोजमा राति अबेरसम्म उनीहरू जोगबनीतिर भौंतारिइरहेका थिए । अन्ततः थोरबहुत सामान जुटाएर नेपाल प्रजातन्त्र रेडियोको कार्यक्रम प्रारम्भ भयो ।

‘जय नेपाल... प्रजातन्त्र रेडियो नेपालबाट तारिणीको अभिवादन... हामी नेपालको मुक्त क्षेत्रबाट बोलिरहेका छौं...’ तारिणीप्रसादले औपचारिक रूपमा रेडियो प्रसारण सुरु गरे । अनि गुन्जियो, ‘नेपाली अघि बढ हातमा क्रान्ति झन्डा ली...’ गीत । त्यसपछि नेपालीमा तारिणीले, हिन्दीमा रेणुले समाचार भने । अंग्रेजीमा विजयलक्ष्मीले समाचार वाचन गरिन् । यो रेडियोका बिहान, दिउँसो र बेलुका गरी तीन सभामा कार्यक्रम प्रसारण हुन्थे । प्रत्येक सभामा समाचार भनिन्थ्यो, अनि साथै गीत–संगीत तथा नाटक इत्यादि बजाइन्थे ।

रोचक के भने रेणुको पुस्तक र तारिणीको लेख दुवैमा प्रजातन्त्र नेपाल रेडियोको प्रसारण कहिलेदेखि सुरु गरियो भन्ने उल्लेख छैन । न यसबारे लेखेका अन्य अध्येताले नै यो रेडियो प्रसारणको मिति उल्लेख गरेका छन् । तर, ‘नेपाली क्रान्ति–कथा’मा रेणुले पहिलो दिनको समाचारमा ‘मोहनशमशेरका दुई दूत केशरशमशेर र विजयशमशेर हिजो राति दिल्ली पुगिसेकका’ भनिएको उल्लेख गरेका छन् । इतिहासका अभिलेख केलाउँदा केशर र विजयशमशेर मंसिर १२ गते दिल्लीतर्फ प्रस्थान गरेको थाहा लाग्छ । त्यसैले प्रजातन्त्र नेपाल रेडियो (हालको रेडियो नेपालको पूर्वरूप) को प्रसारण १३ मंसिर २००७ बाट सुरु भएको देखिन्छ । साथै माघ महिनाभरि भोजपुरमा सञ्चालन गरेर पछि सो संयन्त्र विराटनगर पठाइदिएको भन्ने नारदमुनिको दाबी अमिल्दो हुन्छ । र, भोजपुरभन्दा करिब दुई हप्ताअघि नै विराटनगरबाट रेडियो प्रसारण सुरु भइसकेको देखिन्छ ।

विद्रोही आन्दोलनकारीहरूले अखबार र पर्चा–पाम्प्लेट (हवाईजहाजबाट समेत खसालिएको) बाट प्रोपागान्डा प्रसारण गरिरहेकोमा अब रेडियो पनि थपियो । र, यो प्रोपागान्डाको झन् सशक्त माध्यम बन्यो । त्यस्तो प्रसारण पोखरासम्म पनि सुनिएको बुझिन्छ । क्रान्तिकारीहरूले युद्धमैदानमै पनि रेडियो संयन्त्र लगेर प्रसारण गरेका थिए । आफ्नो विजयको, आफ्नो प्रगतिलाई फूलबुट्टा हालेर उनीहरूले प्रसारण गर्न थाले । दुःखले विराटनगर कब्जा गरिसकेपछि मुक्ति सेनाका जवानहरू धरान–धनकुटातर्फ लागे । यसबीच नेपाल प्रजातन्त्र रेडियोबाट धरान–धनकुटाका सरकारी पक्षलाई निरन्तर चेतावनी दिइयो—मुक्ति सेना धरान–धनकुटातर्फ मार्च गरिसक्यो, अब ५–७ घण्टाको समय छ, आत्मसमर्पण गर । नभन्दै मुक्ति सेनाले बिनाकुनै खास अवरोध त्यहाँ कब्जा जमायो, जसको श्रेय नेपाल प्रजातन्त्र रेडियोलाई दिइन्छ ।

विद्रोहीहरूको यस्तो प्रोपागान्डाको प्रतिवाद नगरी रहन राज्यपक्षले सकेन । गोरखापत्रका समाचार–सामग्री केलाउँदा राणाहरूले आफ्नो तर्फबाट प्रोपागान्डाका लागि नयाँ अड्डा मोहन–आकाशवाणीमा भएको ट्रान्समिटर प्रयोग गर्दै रेडियो समाचार प्रसारण सुरु गरेको देखिन्छ । जयदेव भट्टराईका अनुसार, तेजेन्द्रप्रताप राणाले यो प्रसारण–सञ्चालन जिम्मा लिएका थिए । सरकारी रेडियोबाट प्रसारित यस्ता सामग्रीमध्ये केही गोरखापत्रमा समेत छापिएका छन्, जसमा विद्रोही पक्षको प्रोपागान्डाको प्रतिवाद गरिएको र आफ्नो बढाइचढाइ गरिएको छ ।

२००७ साल मंसिर ५ गतेको गोरखापत्रका विभिन्न समाचारले विपक्षी नेपाली कांग्रेसले सुरु गरेको सशस्त्र आन्दोलनबारेका रेडियो तथा पत्रिकामा आएका समाचारको खण्डन गरेको छ । त्यसमध्ये ‘साँचा खबर’ शीर्षकको समाचारमा भनिएको छ, ‘काठमाडौं, मार्ग २ गते । दिनको २ बजे । आज बिहान टेक्निकल बाधाले समाचार प्रसारित हुन नसकेकोमा अफसोस छ ।’ साथै, ‘लुटेराहरूको होहल्ला’ शीर्षकको अर्को समाचारमा ‘लुटेराहरूले... रेडियो र अखबारमा पिटाएको समाचार बिलकुल झुट्टा र निराधार हो’ भन्दै खण्डन गरिएको छ ।

मंसिर ७ गतेको गोरखापत्रले ‘खाद्य परिषद्का अध्यक्ष गयाप्रसाद शाहले आफ्नू पदबाट राजीनामा गरे भन्ने विदेशी रेडियोले गरेको प्रचार बिलकुल झूट र निराधार हो’ भनेको छ । त्यस्तै मंसिर १९ गतेको गोरखापत्रमा दुईवटा समाचार छन्, ‘आजका २ मूख्य खबरहरू’ र ‘आजका २ मूख्य समाचार’ शीर्षकमा । यी दुई समाचारमा मंसिर १६ र १७ गतेको साँझ ७ बजेको समय उल्लेख गरिएको छ । यसले यी रेडियोको समाचार हुन सक्नेतर्फ इंगित गर्छ । यी तथ्यले रेडियोबाट समाचार, प्रोपागान्डा फुक्ने काम दुवैतर्फबाट भइरहेको भन्ने बुझाउँछन् । र, हाम्रो रेडियो प्रारम्भिक कालमै प्रोपागान्डाको औजार बनेर उदाएको देखिन्छ ।

विद्रोही ‘प्रजातन्त्र रेडियो नेपाल’

कात्तिकमा सुरु भएको सशस्त्र क्रान्तिपछि अन्ततः राणाशाही पछाडि हट्न बाध्य भयो । दिल्लीले ‘ब्रोकर’ गरेको सम्झौतापछि लडाइँ समाप्त भयो । फागुनको पहिलो साता राजा त्रिभुवन लगायत क्रान्तिलाई नेतृत्व गर्नेहरू नेपाल फर्किए । २००७ साल फागुनको ७ गते त्रिभुवनले ‘शाही घोषणा’ गरेपछि नेपालबाट राणाशाही समाप्तप्रायः भयो । नयाँ राणा–कांग्रेस सरकार बनेको केही समयसम्म पनि विराटनगरबाट प्रजातन्त्र नेपाल रेडियो सञ्चालनमा आइरहेको थियो । पछि तात्कालिक गृहमन्त्री बीपी कोइरालाले तारिणीलाई विराटनगरबाट बोलाए, अनि त्यहाँको रेडियोलाई काठमाडौं सार्न आदेश दिए ।

बीपीकै आदेशअनुरूप विराटनगरमा सञ्चालित भइरहेको रेडियो काठमाडौं सारियो । र, चैत २०, २००७ देखि ‘प्रजातन्त्र नेपाल रेडियो’ को प्रसारण काठमाडौंबाट सुरु भयो । अहिले पनि चैत २० मा रेडियो नेपालले आफ्नो वार्षिकोत्सव मनाउँछ, यद्यपि त्यो ऊ जन्मेको दिन होइन । त्यो त काठमाडौंबाट प्रसारण थालनी भएको दिन मात्र हो । पछि, ‘प्रजातन्त्र नेपाल रेडियो’ बाट मात्रै प्रजातन्त्र उडाइएन, नेपालबाटै ‘प्रजातन्त्र’ उडाइयो ! नामबाट प्रजातन्त्र काटिएपछि ऊ ‘रेडियो नेपाल’ बन्यो र अद्यापि त्यही नामबाट चलिरहेको छ ।

प्रकाशित : माघ २२, २०७८
स्रोत : https://ekantipur.com/koseli/2022/02/05/164403134365231121.html


About the Author

More Blogs

भूमण्डलीकरणको शक्तिशाली उद्योग
Chautarian Speaks

भूमण्डलीकरणको शक्तिशाली उद्योग

- भास्कर गौतम 2022-02-15
हाम्रा शासक, प्रशासक र योजनाकारहरू जनताको होइन दाताका सेवकजस्ता छन् । उनीहरूलाई नेपाली जनताप्रति उत्तरदायी हुने कुराले त्यति सताउँदैन जति दातालाई रिझाउन नसक्ने सम्भावनाले पिरोल्छ ।