'नेपाली इतिहासको परिवेश'को प्रकाशनसँग गाँसिएका केही पक्ष र (कु)तर्क

- लोकरञ्‍जन पराजुली | 2021-10-01

संस्थागत रूपमा चौतारीको लेखक पन्तसँग मैनालीले भनेको जस्तो 'कैयौं' होइन कि कुनै पनि मतभेद छैन। त्यसैले 'मतभेद हुँदाहुँदै पनि किताब छाप्न अग्रसर' भएको भन्ने मैनालीको कथ्य तर्कसंगत र तथ्यसंगत छैन।

११ वैशाख २०७८ मा हिमालखबरमा "के पृथ्वीनारायण शाह इसाईप्रति द्वेष राख्थे ?" शीर्षकमा सुजित मैनालीको नाउँमा एउटा लामै लेखोट निस्केको छ। इतिहासकार महेशराज पन्तले लेखेको र प्राज्ञिक सामाजिक संस्था मार्टिन चौतारीले प्रकाशन गरेको नेपाली इतिहासको परिवेशः केही ऐतिहासिक र मसीजीवी लाई 'पेग' बनाइएको सो लेखोट १५ बुँदामा बाँडिएको र करीब ३५०० शब्दको छ।

पुस्तक या त्यसको अन्तर्वस्तु उपर पाठकका रूपमा मैनालीले व्यक्त गरेका विचारमा प्रकाशक मार्टिन चौतारीको कुनै टिप्पणी रहँदैन, किनभने प्रकाशित सामग्रीको आलोचना, समालोचना, समीक्षा भइरहनुपर्छ र त्यस्तो बौद्धिक विमर्शले नै ज्ञानको गहिराइ बढाउँदै लैजान्छ। त्यस्तो कार्य नेपाली समाजको बौद्धिक उन्नयन/उद्बोधनका लागि महत्त्वपूर्ण छ भन्ने हामी ठान्छौं। नेपाली इतिहासको परिवेश का लेखक पन्तलाई मैनालीले पुस्तक उपर अभिव्यक्त गरेका विचार टिप्पणीयोग्य लागेका खण्डमा उहाँले पक्कै यथोचित समय र माध्यम मार्फत सो अभिव्यक्त गर्नुहुने नै छ।

book review by Sujit Mainali30may21


मैनालीको सो लेखोटको पछिल्लो भाग र लेखको तृतीयांश पुस्तक प्रकाशक संस्थालाई प्रत्यक्ष र परोक्ष आरोप लगाउनमा खर्चिएको छ। विभिन्न व्यक्ति र पुस्तक लेखक स्वयंले भिन्न समय र भिन्न प्रसंगमा सामाजिक संस्थाहरू उपर अभिव्यक्त गरेका विचारलाई उद्धृत गर्दै र तथ्यहरूलाई तोडमरोड गर्दै प्रकाशक मार्टिन चौतारीमाथि संगीन आरोप लगाइएको छ। तलका केही अनुच्छेदमा मैनालीले लगाएका आरोप र तिनको आधारहीनताको चर्चा गरौं।

ऐतिहासिक महेशराज पन्तद्वारा लिखित केही लेख पुस्तकमा संगृहीत नभएकै कारण प्रकाशक संस्थालाई 'आलोचना, आलोचक र फरक विचार राख्नेहरूप्रति अनुदार' र 'हामी र हाम्राहरूको आलोचना चाहिँ गर्न पाइँदैन' भन्ने मान्यतालाई 'संस्थागत' गरिरहेको आरोप मैनालीको सो लेखोटमा लगाइएको छ।

पुस्तकको वाङ्मुखमा उल्लेख भए झैं महेशराज पन्तले लेखेका केही लेखको संग्रह चौतारीले प्रकाशन गर्नेबारे सहमति भइसकेपछि पन्तले आफ्ना १०० वटा लेखको संग्रह चौतारीका तात्कालिक अध्यक्ष योगेश राजलाई हस्तान्तरण गर्नुभएको र ती मध्येबाट उहाँले २५ वटा लेख चयन गर्नुभएको हो।

योगेश राजको महेशराज पन्तसँगको सान्निध्य लामो समयको हो; एक हिसाबले उहाँहरूबीच 'सिनियर-जुनियर कलिग' को सम्बन्ध छ भन्न मिल्छ। र, योगेश राजले पुस्तकमा संगृहीत लेखको चयन सोही सम्बन्धका आधारमा र व्यक्तिगत तवरमा गर्नुभएको हो, न कि चौतारीको अध्यक्षको रूपमा। उहाँ अध्यक्ष हुँदा स-साना निर्णयहरूमा समिति गठन गरेर सो समितिले दिएको सुझावलाई कार्यान्वयन गर्ने प्रचलन थियो। तर, यो पुस्तकमा संगृहीत लेखको चयनका लागि कुनै समिति गठन गरिएको थिएन। चौतारीको समग्र प्रकाशन-सम्पादन युनिटको संयोजकका रूपमा मैले प्रकाशनका विविध पक्षको संयोजन गरेको र सम्पादनमा समेत संलग्न रहेको भए तापनि लेखहरूकै चयनमा भने मेरो या चौतारीको 'संस्थागत' संलग्नता भने थिएन।

त्यसबाहेक, योगेश राजले प्रारम्भिक रूपमा लेख चयन गरेर मूल लेखक महेशराज पन्तलाई बुझाउनुभएको हो। संग्रहका 'यी-यी लेखभन्दा यी-यी लेख उपयुक्त हुन्छन्, त्यसैले यी राखौं र यी फ्याकौं' भन्न पुस्तकको लेखकका रूपमा पन्त सदैव स्वतन्त्र हुनुहुन्थ्यो। वाङ्मुखमा भनिए झैं लेखकले संग्रहमा आठ-आठ पटक परिमार्जन लगायतका काम गर्नुभएको छ। उहाँले आग्रह गर्नुभएका कुनै पनि परिमार्जनलाई प्रकाशन संयोजक/सम्पादकका रूपमा मैले अस्वीकार गरेको थिइनँ। तसर्थ, लेखक पन्तले समग्र संग्रहलाई स्वीकृति दिएर नै यो प्रकाशनमा आएकाले यो संग्रह उहाँको आफ्नो हो। एउटा संग्रहमा सबै लेख राखिँदैनन् र पुस्तकमा जे-जति लेख संगृहीत छन् त्यसको 'ओनस' मूल रूपमा लेखक स्वयंमै हुन्छ।

मैनालीले यसको सत्यतथ्य आफूले गुरु मानेका पन्तसँग एक पटक मात्र सोधेका भए पनि सो कुरा स्पष्ट हुन्थ्यो। लेख-चयन सम्बन्धी यो तथ्य प्रष्ट हुने बित्तिकै मैनालीको लेखोटका बाँकी आरोप/तर्कले टेक्ने ठाउँ पाउँदैनन् र गर्ल्यामगुर्लुम्म ढल्छन्। तथापि, सो लेखोटमा बाँकी बचेका मिथ्यालाई सच्याउनु वाञ्छनीय हुन्छ।

मैनालीको लेखोटमा खासगरी तीन जना लेखकको नाउँ लिई दुई जना (महेशचन्द्र रेग्मी र कमलप्रकाश मल्ल) प्रति प्रकाशक चौतारीको सद्‌भाव र एकजना (सौरभ) प्रति चौतारीको दुर्भाव रहेको दाबी गरिएको छ। रेग्मीप्रति चौतारीको आग्रह या दुराग्रह भएको प्रमाण र कारण उल्लेख गरिएको छैन। चौतारीको सौरभप्रति दुराग्रहको प्रमाणका रूपमा संग्रहमा परेको लेख 'लेवीमा लाञ्छना' लाई देखाइएको छ।

यो लेखमा सौरभले नेपाल अन्वेषक लेवीसम्बन्धी छापेका लेखमा परेका गलत तथ्यहरूलाई पन्तले उजागर गर्नुभएको छ। मैनालीको तर्कलाई तन्काउने हो भने यस्तो अर्थ लाग्छः यदि चौतारीले छापेका संग्रहमा कसैको आलोचना गरिएको छ भने सो व्यक्ति उपर चौतारी दुराग्रह या दुर्भाव राख्छ। स्वयं मैनालीले आफ्नो लेखोटमा उल्लेख गरे झैं नेपाली इतिहासको परिवेशमा लेखक पन्तले शुक्रराज शास्त्रीदेखि यदुनाथ खनाल, नरहरिनाथ, बाबुराम आचार्य, बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली आदि सम्मको पनि आलोचना गर्नुभएको छ। यदि मैनालीको सौरभवाला तर्कलाई मान्ने हो भने पुस्तकको प्रकाशक चौतारी ती आआफ्ना विधाका मूर्धन्यप्रति दुराग्रह या दुर्भाव राख्छ भन्ने अर्थ निस्कन्छ।

के साँच्चै त्यस्तो हो त? के आलोचनात्मक लेख छाप्नुको अर्थ दुर्भाव राख्नु हो? मैनालीको यस्तो (कु)तर्कले उहाँको बौद्धिकताको परिचय मात्र दिन्छ।

त्यस्तै, मार्टिन चौतारीको कमलप्रकाश मल्लप्रति सद्‌भाव भएको प्रमाणका रूपमा समाज अध्ययन जर्नलको अंक ११ मा मल्लको 'नेपाली समाजमा बुद्धिजीवी' लेख पुनःप्रकाशित हुनुलाई उभ्याइएको छ। मल्लको यो लेख ५० वर्षभन्दा बढी पुरानो भइसके पनि यसको नेपाली समाजमा अझै सान्दर्भिकता रहेकाले यो लेख धेरै ठाउँमा धेरैले पुनःप्रकाशन गर्दै आएका छन्। स्मरणीय के छ भने, कनकमणि दीक्षितबाट मल्लको सो लेख रहेको पुस्तक रोड टु नोह्वेर सन् २०१५ मा पुनःप्रकाशन गर्ने कामको संयोजन भएको थियो।

मार्टिन चौतारीले प्रकाशन गरेका एक सयभन्दा बढी पुस्तक तथा जर्नलमा आजसम्म सयौं अध्येताका लेख-रचना छापिएका छन्। त्यस्तै, थुप्रै अरू अध्येताका बिब्लिओग्राफी पनि चौतारीले तयार गरेको छ। पुराना पुस्ताका नयराज पन्तदेखि नयाँ पुस्ताका भर्खरै एमए पढ्दै गरेका या सकेका अध्येताको सामग्रीले चौतारीका प्रकाशनमा स्थान पाएको छ। मैनालीका शब्दमा चौतारीले दुर्भाव राखेका भनिएका लेखक सौरभका दुई वटा लेख चौतारीले प्रकाशन गर्ने जर्नलमा छापिएको छ। अरू त अरू, मैनाली स्वयंको समेत लेख कमलप्रकाश मल्लको लेख छापिएकै जर्नल (समाज अध्ययन) मा प्रकाशित छ। सम्पादकका रूपमा हामीले या प्रकाशकका रूपमा चौतारीले सौरभ वा मैनालीप्रति दुर्भाव राखेका भए के ती सामग्रीले हाम्रा प्रकाशनमा स्थान पाउँथे होला र?

चौतारीबाट प्रकाशन हुने सामग्री कसैलाई मन पराएको आधारमा या मन नपराएको आधारमा छापिने होइन, यसको आफ्नै समीक्षा-प्रक्रिया छ, र सो प्रक्रिया पार गरेका सामग्री छापिन्छन्- वैचारिक या मतो मिले-नमिलेका आधारमा होइन। लेखको मौलिकता, नवीनता, तर्क, प्रस्तुति, प्रमाणका आधारमा लेखहरू छापिने-नछापिने निर्णय गरिन्छ, र त्यसमा बाह्य समकक्षी-समीक्षकको पनि एकदमै ठूलो भूमिका हुन्छ। यो कुरा चौतारीको जर्नलमा आफ्नो लेख छपाएका मैनालीलाई ज्ञात नभएको होइन, किनभने उहाँको लेख पनि बाह्य समीक्षकहरूका टिप्पणी र विभिन्न चरणको परिमार्जनपछि मात्र छापिएको हो।

विदेशी सहयोग र ज्ञान उत्पादनको सम्बन्धबारेको लेख नपरेको भन्दै त्यसलाई चौतारीसँग गाँसेर एक त चौतारी खास खाले विचार/इतिहास प्रवर्धन गर्न चाहन्छ भन्ने आरोप मैनालीले लगाउनुभएको छ, अनि चौतारीको आर्थिक स्रोत इत्यादिको पारदर्शितालाई पनि सो लेखोटमा प्रश्न उठाइएको छ। पुस्तकमा संगृहीत लेखहरूको छनोट प्रक्रियाबारे मैले माथि चर्चा गरिसकेकाले यहाँ थप उल्लेख गर्नु परेन।

जहाँसम्म महेशचन्द्र रेग्मीको कुरा छ, उहाँले आफ्ना लेखमा आफूलाई प्राप्त विदेशी सहयोग र तिनको 'प्रभाव' बारे प्रष्ट्याइसक्नुभएको छ। रेग्मीले युनिभर्सिटी अफ क्यालिफोर्निया बर्क्लेबाट मूलतः नेपाल अध्येता लियो रोजको सहयोगमा अनुसन्धान-अनुदान पाउनुभएको थियो। अनुदान हिमालयन बोर्डर्स प्रोजेक्ट अन्तर्गत उपलब्ध भए पनि सो अमेरिकी सरकारको पैसा प्रयोगमा आएको कुरा बाहिर आएपछि सो सहयोग विवादमा आयो।

सन् १९९२ मा रेग्मीले मार्टिन गेन्ज्लेसँगको अन्तर्वार्तामा भन्नुभएको छ- "मैले भनेँ, हेर, मलाई थाहा छैन, मैले नेपालमा अनुसन्धान गर्नका लागि पैसा पाएको हुँ, पैसा कहाँबाट आएको हो भन्नेमा मलाई खासै चासो रहेन। ... उनीहरूले मलाई एउटा अनुसन्धान-अनुदान (ग्रान्ट) दिए, मलाई कहिल्यै यो वा ऊ गर भनेनन्। उनीहरूले तिमीलाई जे गर्न मन लाग्छ गर भने। मैले नेपालको भूमि व्यवस्था र कर प्रणालीबारे अनुसन्धान गर्छु भनेँ। एउटा किताब (भोल्युम) लेख्ने परियोजनाबाट शुरू भएको यो क्रम पछि दुई, तीन हुँदै चार वटामा पुग्यो। उनीहरूले ती सबैमा सहयोग गरेका हुन्।"

हिमालयन बोर्डर्स प्रोजेक्टको समाप्तिसँगै रेग्मीले पाउने अनुदान सन् १९६९ मा रोकियो। यो विवादपछि पनि रेग्मीको लियो रोजसँगको सम्बन्ध सुमधुर रहिरह्यो र उहाँले रोजलाई आफ्ना पछिल्ला संग्रह र अवसरमा धन्यवाद दिनुभएको छ। यहाँनेर स्मरण गर्नुपर्ने कुरा के हो भने, जसको लेखनी उद्धृत गर्दै मैनालीले रेग्मी उपर गम्भीर आरोप लगाउनुभएको छ, उहाँ (महेशराज पन्त) स्वयंले पनि मानेको कुरा के हो भने, नेपालको आर्थिक इतिहास बुझ्ने हो भने महेशचन्द्र रेग्मीलाई नपढी धरै छैन।

विदेशी सहयोग र ज्ञान उत्पादनसँग यसको सम्बन्धबारे थप छलफल आवश्यक छ र यसले लामो र छुट्टै टिप्पणी माग गर्छ। यहाँनेर के मात्र भनौं भने, चौतारीले विदेशी सहयोग लिएको छ, तर आफ्नो सम्पादकीय स्वतन्त्रता कायम हुने शर्तमा मात्र। आफ्नो सम्पादकीय स्वतन्त्रता र नियन्त्रण नहुने थुप्रै सहयोग चौतारीले विगतमा अस्वीकार गरेको छ। हाम्रा सबै प्रकाशन सार्वजनिक वृत्तमा छन्। चौतारीका यी-यी प्रकाशन यी-यी विदेशीका विचारलाई प्रवर्द्धन गर्न ल्याइएका हुन् भनेर सप्रमाण देखाउन म मैनालीलाई सार्वजनिक रूपमा चुनौती दिन्छु। साथै, चौतारीको आय-व्यय पनि सार्वजनिक हुने हुनाले सोबारे पनि अध्ययन गर्न जोसुकैलाई खुला रहेको जानकारी गराउँछु।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ, साउथ एसिया चेक) मा स्वयं 'फ्याक्टचेकर' का रूपमा काम गरिसकेका मैनालीले आफ्नो लेखोटमा अरू पनि तथ्यगत त्रुटि गरेका छन्। यो सही हो कि,नेपाली इतिहासको परिवेश को प्रकाशनको अग्रसरता योगेश राजले लिनुभएको हो। तर, मैनालीले दाबी गरेको जस्तो उहाँ नेतृत्वमा आएकाले चौतारीको प्रकाशनमा विविधता आएको भने होइन। नेपालको इतिहासका विभिन्न पाटाबारे चौतारीले उहाँ चौतारीमा संलग्न हुनुभन्दा धेरै पहिलेदेखि अध्ययन-अनुसन्धान र प्रकाशन गर्दै आएको हो।

चौतारीले आजभन्दा २० वर्ष पहिले नै मिडिया इतिहासका पुस्तक छापेको हो। योगेश राज चौतारीमा औपचारिक रूपमा सन् २०१२ देखि मात्र संलग्न हुनुभएको हो। यसअघि (सन् २०१० मा) नै उहाँको हिस्ट्री याज माइन्डस्केप पुस्तक चौतारीले प्रकाशन गरेको हो, जसको पाण्डुलिपि पढेर प्रकाशनको निर्णय सन् २००७ मा प्रत्यूष वन्तले गर्नुभएको हो।

सन् २०१३ मा योगेश राजको अर्को पुस्तक सन्ध्या-संरचना चौतारीबाट छापियो; जसको 'आभार' मा पुस्तक प्रकाशनको पृष्ठभूमिबारे प्रष्ट पारिएको छ। जब कि योगेश राज चौतारीको अध्यक्ष हुनुभएको सन् २०१४ मा मात्र हो। यी तथ्य चौतारीको वेबसाइट हेर्ने बित्तिकै प्रष्ट हुन्छ। स्मरणीय के छ भने, सो पुस्तक (सन्ध्या-संरचना) माथि सन् २००१ को चौतारी लेखनवृत्तिका क्रममा अन्तिम चरणको काम गरिएको थियो, जतिबेला चौतारीसँग योगेश राजको कुनै हिसाबले पनि संलग्नता थिएन।

त्यसबाहेक, मैनालीले उल्लेख गरे झैं स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी जर्नल मार्टिन चौतारीले होइन, मण्डला बुक पोइन्टले प्रकाशन गर्छ। प्रकाशक हिमालखबरले समेत तथ्य पुष्टि नगरी छाप्दा चुकेको छ।

हामीले नेपाली इतिहासको परिवेश को बाहिरी आवरणमा उल्लेख गरे झैं पन्तले नेपाली इतिहास अनुसन्धान-लेखनको एउटा विशिष्ट स्कूललाई प्रतिनिधित्व गर्नुहुन्छ। र, उहाँ आफ्नो क्षेत्र (फील्ड) को उम्दा ऐतिहासिक हुनुहुन्छ भन्नेमा शायदै कसैको विमति होला। संस्थागत रूपमा चौतारीको लेखक पन्तसँग मैनालीले भनेको जस्तो 'कैयौं' होइन कि कुनै पनि मतभेद छैन। त्यसैले 'मतभेद हुँदाहुँदै पनि किताब छाप्न अग्रसर' भएको भन्ने मैनालीको कथ्य तर्कसंगत र तथ्यसंगत छैन।

माथिका विवरणबाट के थाहा लाग्छ भने, मैनालीले मार्टिन चौतारीलाई लगाएका सबै आरोप आधारहीन छन्। मलाई लाग्छ, मैनाली स्वयं पनि यस कुराप्रति जानकार हुनुहुन्छ। तर, एउटा संग्रहमा कुनै लेख परे-परेनन् भन्ने आधारमै चौतारी जस्तो प्राज्ञिक सामाजिक संस्थाप्रति अत्यन्त गम्भीर आरोपहरू मैनालीले कुन उद्देश्यले, कुन स्वार्थले अभिप्रेरित भएर लगाउनुभएको हो, त्यो बुझ्न भने म अझै असमर्थ छु।

(पराजुली मार्टिन चौतारीका सम्पादक हुन्।)


प्रकाशन मिति : शनिबार, १ जेठ, २०७८
स्रोत : www.himalkhabar.com/news/123490?fbclid=IwAR15_Ube1G4DPl__7i8rhpBh0RNkSdGAtlcYyHGkwCqPbVcM91vSsGoepN8


About the Author

More Blogs

भूमण्डलीकरणको शक्तिशाली उद्योग
Chautarian Speaks

भूमण्डलीकरणको शक्तिशाली उद्योग

- भास्कर गौतम 2022-02-15
हाम्रा शासक, प्रशासक र योजनाकारहरू जनताको होइन दाताका सेवकजस्ता छन् । उनीहरूलाई नेपाली जनताप्रति उत्तरदायी हुने कुराले त्यति सताउँदैन जति दातालाई रिझाउन नसक्ने सम्भावनाले पिरोल्छ ।